091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

मुस्ताङमा एकै दिन झण्डै पाँच हजार पर्यटक

पर्वत : हिमाली जिल्ला मुस्ताङ विविध आकर्षणले भरिपूर्ण छ। अन्नपूर्ण र नीलगिरि हिमालको रेन्जमा रहेको मुस्ताङ तल्लो र उपल्लो मुस्ताङका रूपमा चिनिन्छ।

चीनसँग सिमाना जोडिएको मुस्ताङको उपल्लो क्षेत्र (उपल्लो मुस्ताङ) पदयात्राका लागि प्रसिद्ध हुँदा तल्लो क्षेत्र (तल्लो मुस्ताङ) भने प्राकृतिक दृश्यावलोकनको लागि सर्वप्रिय छ।

तिब्बती संस्कार र परम्परा, हजारौँ वर्ष पुराना गुम्बा सहित मरुभूमिको अनुभूति दिलाउन सक्ने उपल्लो मुस्ताङ तथा बलौटे माटोको समिश्रणबाट मानव निर्मित जस्तै देखिने प्राकृतिक दृश्यले स्वर्गको अनुभूति दिलाउने तल्लो मुस्ताङ आन्तरिक र बाह्य पर्यटकका लागि रोजाइको केन्द्रका रूपमा रहेका छन्। 

सुधारिएको मौसम र केही दिन लामो बिदा परेका वेला मुस्ताङमा आन्तरिक पर्यटकहरूको भीड बढी हुने गर्दछ। विशेषतः दशैँ र तिहार आसपासको समय मुस्ताङ भ्रमणको लागि उपयुक्त मानिन्छ। यही कारण हिजोआज मुस्ताङले थामी नसक्नुका पर्यटकलाई स्वागत गर्न पाएको छ।

म्याग्दीबाट मुस्ताङ छिर्ने नाकामा रहेको घाँसा प्रहरी चौकीका अनुसार शनिवार मात्रै मुस्ताङमा झण्डै पाँच हजार पर्यटक भित्रिएका छन्। यो वेला दैनिक औसतमा तीन हजार पर्यटकको आवागमन भइरहेको भए पनि शनिवार मुस्ताङ पुग्ने आन्तरिक पर्यटकहरूको संख्या एकाएक बढेको हो। शनिवार ४७३ मोटरसाइकल, ३३१ वटा जिप तथा साना सवारी र २३ वटा बसमार्फत चार हजार ७२० जना पर्यटक मुस्ताङ भित्रिएका छन्।

‘यहाँ औसत दैनिक तीन हजार जति पर्यटक आउनु हुन्थ्यो तर शनिवार ठूलो संख्यामा भित्रिनुभएको छ। ठूला बसमा आउने प्रायः आन्तरिक पर्यटक हुनुहुन्छ। विदेशीहरू मोटरसाइकल र जिपमा धेरै आउनुहुन्छ’, घाँसा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनबहादुर कार्की भन्छन्, ‘यो ठाउँका बढी हुनुहुन्छ भन्ने नै छैन। चेक जाँचका क्रममा विभिन्न ठाउँ घर भएको बताउनुहुन्छ। यो वेला पर्यटकको निकै चाप हुने समय हो।’ 

मुस्ताङको कागबेनीमा होटेल व्यवसाय गर्दै आएका छेप्तेन गुरुङले अहिले अधिकांश होटल पाहुनाले भरिएर नयाँ मान्छेले ठावै नपाउने जस्तै अवस्था आएको बताउँछन्। मुस्ताङका बारेमा पहिले नै अनुभव गरेका तथा त्यहाँको बारेमा थाहा पाएका कतिपयले पहिले नै होटेलमा ‘रुम बुक’ गरेर आउने गरेकाले ‘बुकिङ’बिना जानेहरूले खानबस्नका लागि ठाउँ पाउन समस्या हुने उनको भनाइ छ।